कैदखाना [अकविता]
प्रीय मित्र, तिमी 'कैदी' हौ त्यो कैदखानाको जो जिर्ण भै ढल्दैछ खोपीका डण्डीहरुमा खिया लाग्दैछन् बन्द द्वारमा धमिरा लाग्दैछन् दिवारहरु चर्किंदैछन् जञ्जिरहरु खिईदै छन् एक स्वासमैं एक झट्कामैं तिमी कैदखाना बाट मुक्त हुन सक्छौ तर मित्र… तिमी लाचार छौ विवश छौ तिम्रो खोपडी दास भएको छ तिमीलाई ज्ञात छैन समाजद्वारा युगौं-युगदेखी मुक्तीको नाउँमा 'अमृत'को घडाबाट 'दासत्वको बिष' पिलाइएको छ मित्र तिमी दास जन्मियौ दास हुर्कियौ दास नै जवान भयौ तिम्रो दासत्व बडो प्राचिन छ तिमिलाई स्मरण नै छैन कि - तिमी दास हौ तिमी एक बिस्मृत रोगी हौ तिमीले भुलिसक्यौ कि - तिमी 'देव' हौ (एक श्रापित देव) त्यसैले त मित्र… जंञ्जीरलाई आभूषण ठान्छौ बन्द द्वारलाई सुरक्षा ठान्छौ कैदखानालाई घर ठान्छौ र निरन्तर श्रीङ्गार्छौ आफ्नो कैदखानाका भित्ताहरुलाई जंञ्जीरहरुलाई बन्द द्वारहरुलाई… मुक्ती के हो ? तिमीलाई ज्ञात नै छैन त्यो तिम्रो कल्पजगत भन्दा दूर छ धेरै दूर ! तिमी लड्न सक्थ्यौ दासत्व बिरुद्ध तर मित्र… कसैले तिमीलाई बन्दी बनाईरहेकै छैन तिमी त स्वयं आफ्नै निमित्त बिशाल कैदखाना बनाउछौ …र कैद गर्छौ ...

Comments
Post a Comment