•••तथाकथित क्रान्ति र मेरा अनुत्तरित प्रश्नहरु•••


      [ अ'कथा ]



तिन्ताका म साँनै थें । स्कुल पढ्दा ताकाको कुरा हो । केहि दुब्लो ख्य्याउटे, आँखा भित्र गढेका, दारी काटछाँट नगरिएका , हातमा नसा देखिएका खरानी रंगको सोल्डर् ब्याग भिरेर हाम्रो घरमा भात माग्न आउँथें । उनीहरुको शरीरबाट पसिनाको दुर्गन्ध आउँथ्यो ।


           तिनीहरू मुट्ठि पारेर आकास तिर फर्काउँदै अभिबादन गर्थे । तिन्ताका तिनिहरु क्रान्तीका कुरा गर्थे । बिद्रोहका कुरा गर्थे । समाजबादका कुरा गर्थे ।  समानताका कुरा गर्थे । युद्धका कुरा गर्थे । म बुझ्दिनथें । के हो समाजबाद ? के हो क्रान्ती ? के हो युद्ध ? के को समानता ?


           तिनीहरुको सोल्डर् ब्यागमा के होला ? म घोत्लिरहन्थें । झोलाको फस्नर खोलेर हेर्ने हिम्मत जुट्दैन थ्यो न त सोध्ने हिम्मत । केहि हुन्थ्यो गह्रौं चिज फलाम जस्तो । उनिहरु सुत्दा पनि त्यो झोला च्यापेर सुत्थे । तिनिहरु पिंढिमा सुत्थे । परालको गुन्द्रीमा । म डराई-डराई पिसाब फेर्न उठ्थें । त्यो झोला फेरि देख्थें के होला त्यो झोला मा ? च्यापसलमा सुनेको थें "बम् हुन्छ तिनेरुको झोलामा" । हेर्न मन थ्यो बम कस्तो हुन्छ भनेर ।


           भोली पल्ट कुखुरा नबास्दै उनिहरु गैसकेका हुन्थे । ति अनिंदो जिवहरु अनिंदै जंगल फर्किए या शहर पसे(सोल्डर् ब्यागमा बम बोकेर)। जिउ सिरिङ्ग हुन्थ्यो । घरी-घरी सुनिन्थ्यो । हाम्रो तिर आउनेहरुको नाइके केटालाई सेनाहरुले मार्‍यो भन्ने खबर । मेरो आँखा अगाडी त्यो अनिदो खोपिल्टो परेको झुस्स दारीवाला अनुहार झल्झली आउँथ्यो ।



          समय बित्त्दै गयो । २०६२ सालमा मैले S.L.C दिएको पर्सी पल्ट बाट हुलका हुल मान्छेहरु गोर्खा बजारको सडकमा लाठा बजार्दै हिंड्न थाले । रेडियो खुब चल्तिमा थ्यो तिन्ताका । समाचारमा आउँथ्यो "यति जना मर्यो गोलि लागेर । यति जना घाईते ……… यस्तै यस्तै ।" तिन्ताका त्यो हुलदंगालाई "जनआन्दोलन" भनिन्थ्यो । कति मरे कतिले मारे । चर्किंदै गयो । मान्छेहरु मर्दै गए । 


          …केहि दिन पछि… । "लोकतन्त्र" आयो भनेको सुनेथें । पछि फेरि "गणतन्त्र" आयो भनेको सुनेथें । खै के-के तन्त्र आयो । के-के तन्त्र गयो । म पढ्नको लागी राजधानी गएं ।



           केहि साल पछिको कुरा हो । त्याँहा क्याम्पसमा मैले हाम्रो घरमा भात मागेर खाने ख्याउटे, झुस्स दारी भा'को हातभरी नसा भा'को एउटा अनिदो जिवलाई मैले हाम्रो क्याम्पसको एउटा कार्यक्रममा भासण गर्न आएको देखें । ऊ सफा टिलिक्क टल्किने पजेरो गाडिबाट ओर्लिएको थियो । सर्सर्ती उस्को अनुहार पढें । दारी फ्रेन्च कटमा थियो, हातमा गर्हौं जस्तो लाग्ने घडी थियो । कालो कोट सर्लक्क मिलेको जुल्फी । उस्को शरीरबाट त्यो पुरानो गन्ध हराइसकेको थियो । अब अत्तरको वासना आउँथ्यो । ईस्त्री गरेर धारिलो क्रीज बनाईएको पाइन्ट् । टल्किने जुत्ता लाएर फेरि उहि पुरानो शैली मा मुट्ठि बटारेर आकाश तिर फर्काएर अभिवादन गर्यो । एस्पाली उस्को दुब्लो हातमा नसाहरु देखिएन । मैले उस्को आँखा हेरें, ति अनिंदो थिएनन् । 


         म त्याँहा बाट हिंडें । कलेजको क्यान्टिन् गएं । चिया मगाएं । तातो-तातो चिया आईपुग्यो । चिया ल्याइदिने केटो म भन्दा अलि सानो थ्यो । उस्को आँखा अनिदो थियो । सुकेको हातमा नसा देखिन्थ्यो । मलाई झल्याँस्स ति केहि साल अगाडी भात मागेर खाने युवाहरुको झझल्को आयो ।



         खैर् जे होस् । मैले चिया पिउंदै आफ्नो गाउँ सम्झें । गाउँ जस्तो दशक अगाडी थियो । उस्तै छ । साथिहरु बिदेशीने क्रम अलिक बढेको छ । यत्ती हो - आज्काल भात मागेर खान आउने ति आँखा भित्र पसेका ख्याउटे जिवहरु आउन्नथे ।


          दिन जाडो थियो । एक क चियाले धित मरेन । फेरि अर्को कप मगाएं । फेरि उहि अनिंदो एक जोर आँखा भएको केटो चिया लिएर आईपुग्यो । फेरि मैले पुरानो जिवहरु सम्झिएं । दोस्रो कप चियाको पहिलो सुरुप् तान्दै सोंच्न थालें …… के हो "आन्दोलन"को अर्थ ? के हो "समाजवाद"को अर्थ ? के हो "युद्ध"को अर्थ ? के हो "क्रान्ती"को अर्थ ? यी तमाम चिज खास्मा कस्ले कस्को लागि आविष्कार गर्यो ?


      म अनुत्तरित प्रश्नहरुको चाङ्गलाई खोपडिमा कोचेर डेरा तर्फ लागें । त्यो पैले हाम्रो घरमा भात माग्ने जीव अझै लाउड स्पिकरमा च्याँट्ठिंदै थियो । आवाज भने बिस्तारै मधुरो हुँदै थियो । 


°°°


••••जोगी•••

10-Nov-2017

रेगिस्तान


Comments

Popular posts from this blog

स्वाभिमान [ लघुकथा ]

••••कर्म••• { एउटा अ'कथा}