••••कर्म••• { एउटा अ'कथा}
![]() |
"ऊ" अर्थात "तिमी"; अर्थात "म"; अर्थात "ऊ"; अर्थात "हामी" । यो हाम्रो कथा हो; अर्थात हाम्रो ब्याथा हो; अर्थात हाम्रो जिन्दगी हो । त्रिकाल मत्लब तिन काल । तिन समय । भूत, बर्तमान र भविष्य । यो घटना हो त्रिकाल समयको । अर्थात कालचक्रमा कहिल्यै पनि घट्न नछोड्ने कथा अर्थात ब्याथा । कथाको नियम अनुसार कालचक्रको भूत अंशबाट सुरु गर्छु । ब्याथा एस्तो छ अर्थात कथा……
अनन्त: कालचक्रको एक सुक्ष्म कण बराबरको समयको कुरो हो "ऊ" हो । ऊ एक अर्धचेत प्राणी थियो । सिधा बाटोमा लड्खडाउँदै हिंड्थ्यो । नशामा चुर जँड्याहा जस्तै । थोरै होश जस्तो । थोरै बेहोश जस्तो । अधकल्चो । अधमरो । त्यो शहरमा मात्र उस्लाई हेर्दा निन्द्रामा हिंड्ने रोग लागेको रोगी जस्तो लाग्थ्यो । …तर त्यो शहरमा सबै मानव जातीहरु यहि रोगले ग्रसित पाइन्थ्यो । अरुको कुरा पछि गरौंला । ऊ पात्रमा फोकस गरौं एक्छीन् । ऊ सबैकाम गर्थ्यो अर्धचेतावस्थामैं । नित्यकर्म देखी शास्त्रीय ज्ञान, कुटनिती, राजनीति हरेक क्षत्रमा अब्बल । उस्लाई था थिएन ऊ एक स्लिपवाकर हो जो तन्द्रामा हर चिज गर्छ तर उस्लाई ज्ञात हुँदैन ।
उस्को जिन्दगीको सानो ब्याथा एस्तो थियो । ऊ एक अर्धचेत किसान थियो । मिठो फलको आश गर्थ्यो । मिठो फल फलाउने अनेकन फिलोशोफी पढ्थ्यो । महान गुरुहरुका बडाबडा ठेली पुस्तकहरु अध्ययन गर्थ्यो । …
....तर जब ऊ खेतमा जान्थ्यो तितो "निम"का बिरुवा रोप्थ्यो । हर साल । हर फसलको बिज उस्को निमको हुन्थो । र हर फसल तितो फल्थ्यो । उ रुन्थ्यो । उ कराउँथ्यो । भाग्यलाई दोष दिन्थ्यो । भगवानलाई गाली गर्थ्यो । तर फेरि पनि निमको बिज नै रोपेर फर्किन्थ्यो । ज्ञात अज्ञातबस ऊ निम रोप्नु उस्को आदत भैसकेको थियो । सदाझैं फसल लाग्ने मौसममा खेतमा गयो र फल चाख्न थाल्यो । अनि उहि पुरातन अनि आदिम शैलीमा डाँको छोडेर रुन थाल्यो । आकाश तिर फर्किएर क्रोधले आगो भगवानलाई गाली गर्न थाल्यो अनि भाग्यलाई धिक्कार्न थाल्यो । रुँदारुँदै उस्को थाक्यो । शरिर एक छिन बिसाउन बस्न लाग्यो । त्यतिनै बेला एक परिब्राजक(जोगी) परिभ्रमण गर्दै किसानको खेतको बाटो हुँदै कहिं जाँदै थियो । जोगीले किसानको हाल बुझ्यो । उस्को आँखामा एक दिब्य तेज थियो । गहिरो सम्मोहक उपस्थिती थियो उक्त जोगीको । जोगीले किसानलाई मौन भै हेर्यो किसान बिचलित भै जोगीलाई टुलुटुलु हेर्दै थियो । जोगी अट्टहास हाँसो हाँस्दै भन्यो :- तँ किन रुन्छस् ? जे रोपिस् त्यसैको फल हो । चुपचाप स्विकार गर । नपुंसक बनेर भाग्य र भगवानलाई दोष दिन छोड् । निम रोप्न छोड् । जे तँ साँच्चै चाहन्छस् त्यही रोप । फल निश्चित सुस्वादिष्ट हुनेछ । कर्म परिवर्तन गर् । फलको लागी प्रार्थना गर्नु मुर्खता हो । नपुंसकता हो । अल्छिपना हो । अझै केहि समय तँ संग बाँकी छ । प्रयोग गर् ।" यति भनेर उक्त जोगी फटाफट आफ्नो बाटो लाग्यो ।
जोगीका एक एक शब्दहरु किसानलाई चट्याङ्ग झैं मष्तिस्कमा बज्रन थाल्यो । ऊ आफ्नो आदिम तन्द्राबाट अलिकती केहि बौरिएको जस्तो देखिन थाल्यो । …तर जसै जोगी पर-पर
हुन थाल्यो पुनः बेहोशीले गाँज्न थाल्यो । र ऊ पुर्ण तन्द्रामा मिल्न पुग्यो । उस्लाई आक्कलझुक्कल् त्यो जोगीको धमिलो स्मरण आउँथ्यो । उस्ले आफ्नो चातुर्य देखायो र उक्त जोगी आउने बाटो बन्द गरिदियो । …र पुनः निमको बिज रोप्न थाल्यो । सुन्छु आजकल पनि ऊ फसल काट्ने बेला त्यसरिनै रुन्छ कराउँछ । अनि फेरि उस्को युगौंयुगदेखीको आदिम चिरनिन्द्रामा निदाउँछ । आगे उस्को मर्जी । …सायद ऊ यतिखेर तितो बृक्षको बिज रोप्दै होला । या त धिक्कार्दै आकाश तिर फर्किएर भगवानलाई गाली गर्दैहोला ।
के तिमीले उस्लाई देख्यौ ? सुन्छु कहिलेकाहीं हामी हरेकको ऐनाभित्र ऊ देखिन्छ रे !
१३-नोभेम्बर-२०१८
Comments
Post a Comment