प्रीय सुनगाभा
प्रीय सुनगाभा
प्रीय सुनगाभा ,
तिन्ताका तिमी अनकन्टारमा, निर्जनमा , निर्धक्क, निर्भिक भइ कोपिलमा परिणत हुंदैथियौ । अनायासै मलाई पहिलो हेराइमा नै प्रेम भएछ । म त्यहिं रोकिएं । जहां तिमी फक्रींदैथियौ । हो त्यहि अनकन्टार निर्जन जंगलमा ।
मेरि प्रीय सुनगाभा,
मैले तिमीलाइ कोपिला स्वरुपमा हेरिरहें । नछोईकनै अगाध प्रेम गरिरहें । गरिरहें भन्दा अतिसयोक्ति हुन्छ ; म बाट प्रेम भैरह्यो । अगाध । निर्बाध । एकदम गाढा प्रेम । बेशर्त । बेझिजक ।
तिमीलाइ तबसम्म हेक्का समेत थिएन कि म तिम्रो प्रेमको गहिराईको चरम बिन्दुमा गोता लगाइसकेछु । अनि प्रेमको उचाईको चरम शिखरमा आरोहण गरिसकेछु । म माथि परेको प्रभुको अनुकम्पा देखेर मेरो मन आल्हादित थियो । म प्रेमको चरमोत्कर्षमा आंखाबाट मोति बर्षाउथें - तिम्रो पाउमा । तेतिन्जेल सम्म पनि तिमीलाइ पत्तै थिएन । मेरो अस्तित्वको तिमीलाई कुनै आभाष नै थिएन ।
सुनगाभा ,
कति सुन्दर थिए ति मेरो एकतर्फी प्रेमको चरमोत्कर्षका क्षणहरु । दिनहरु ।
अनायासै एक दिन प्रेमको उन्मादमा मातिएर, बेहोशिएर तिम्रो समिप पुगें । तिमीलाई जताउने रहर भो "तिमीलाई म हृदयभरीको प्रेम गर्छु " भनेर । जब मैले तिमीलाई छोएं , भनें तिमी अवाक् भयौ । तिमी लजायौ । अनि लाजले झन् रक्तिम् भयौ । मेरो प्रेमको अनायास अभिव्यक्तिले तिमी थोरै क्षण विचलित भयौ । अनि बिस्तारै जब मैले छोएं तिमी झन् फक्रीन थाल्यौ । तिमी खुशी भयौ । म झन् खुसी हुंदै गएं । तिमी जस्तै । सायद तिमी भन्दा धेरै ।
तिमी झन्झन् फक्रीदै थियौ । हाम्रो प्रेम पनि झन् झन् फक्रंदैथियो । हामी प्रेमको परमको यात्रामा उन्मुख थियौं । प्रेमको उन्माद एस्तो थियो कि - तिमीलाइ छोइरहुं लाग्थ्यो । उन्मादै-उन्मादमा छुंदैगर्दा ममा वासनाको घर बनिसकेछ । बेशर्त छुने हातहरुले त्यो दि वासनाक्ल उन्मादमा सशर्त छुन पुगेछु ।
प्रीय ,
मैले तिमीलाई मांसल मोह भन्दा माथी उठेर प्रेम गर्न सकिन । मलाई तिमी माफ गरिदिनु । म र एक मांसभक्षक बिच झिनो मात्र अन्तर छ । म फकत एक लघुमानव हुँ । मानवीय बिकासक्रममा मिस्क्यारेज भएको एउटा संभावित मानवको रक्ताम्य भ्रुण हुँ म ।
तिमीले आफ्नो सम्पुर्ण अस्तित्व मलाइ सुम्पिदियौ । मेरो नाम गरिदियौ । मैले तिमीलाइ छुनुपर्ने प्रेमले थियो तर छोएं वासनाले । कामनाले । हो गल्ती यहिं भयो । एउटा भयानक गल्ती । तिमी प्रेमको पूर्णतामा फक्रीएको थियौ । यो बेला मैले पनि प्रेमले भरिएर बेशर्त छुन सकेको भए - त्यो पात्रता , त्यो धीरता अनि तिम्रो जस्तै त्यो महानता ममा भैदिएको भए… हामी उर्ध्वयात्रामा गतिशिल हुनेथियौं । हामीले प्रेमको चरम शिखरमा अवतरण हुने अवशर पाउने थियौं । तर अफसोस… ……
तर अफसोस् सुनगाभा,
मैले तिमीलाइ वासना भरिएको हातले छोएं । हो तिमी त्यहि दिन त्यहि प्रहर बाट मुर्झाउन सुरु गर्यौ ।
जब तिमी मुर्झाउन थाल्यौ म कामवासनाको उन्मादबाट बौरिन थालें । पश्चातापको रापले म रन्थनिएं । रोएं । कराएं । निर्जनमा कति चिच्च्याएं । तर तिमी पुन फक्रीएनौ । हेर्दाहेर्दै तिमी तिम्रो डालीबाट जमिनमा खस्यौ । मैले तिमीलाई त्यहिं अञ्जुलीभरि माटोले पुरिआएं । मैले आफ्नै हातले हाम्रो प्रेमको चिहान बनाएर आएं ।
वासनाले भरिएका मेरा हातहरु कति निर्दयी रहेछन् । मैले छोएं र तिमी आफ्नो डालिबाट च्युत भयौ । एउटा क्रुर जल्लादले झैं तिम्रो अस्तित्व नै लुटिदिएं मैले । तिम्रो हत्या गरिदिएं मैले ।
मैले प्रेमको नियम उल्लंघन गरें सजायं तिमीले पायौ । तिमी गयौ तर…
…
तर………
तर तत्पश्चात म तिम्रो चिहान छातिमा बोकेर सिंगो जीवन जिउन भनेर ; कृष्णले मणि झिकेर मिल्काइदिएको श्रापित अश्वत्थामा झैं भौंतारिइरहेको छु ।
तिमी निर्जनमा स्वस्फुर्त फक्रदैथियौ । म हुनु नहुनुको कुनै प्रभाव थिएन । अनायासै म उपस्थित भएं । मैले छोएं र तिमी सिद्धियौ । सायद मेरि प्रीय सुनगाभा , जिन्दगीमा कहिलेकाहिं प्रेम पनि अभिसाप बनेर आउने रहेछ ।
कति जाति हुन्थ्यो होला...
कति जाति हुन्थ्योहोला… म तिम्रो नगिच नै नगैदिको भए । मैले तिम्लाइ वासनाले भरिएर नछोइदिएको भए । आज्ञात प्रेमी भएर भूमिगत भैदिएको भए… मेरि प्रीय सुनगाभा , कति जाति हुन्थ्योहोला… म हुंदैनभएको भए…

Comments
Post a Comment